भरतपुर । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भदौ २२ गतेदेखि २४ गतेसम्म तीज विशेष उद्यमशील एक्स्पो हुने भएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो ।
पर्वलाई उद्यमशीलतासँग जोड्नका लागि तीज विशेष उद्यमशील एक्स्पो गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलनगरी जानकारी गराएको हो । एक्स्पोमा महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको प्रदर्शनी, तीज विशेष सांस्कृतिक कार्याक्रम र उद्यमी बीच विभिन्न विषयमा सेमिनार आयोजना हुने चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदीले बताइन् ।
एक्स्पोको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने तय भएको उनले बताइन् । हस्तकलाका सामान, तीज विशेष सामाग्री, स्वदेशी लत्ता कपडा, जुत्ता चप्पल, गिफ्ट आइटम, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ लगायतका वस्तु तथा सेवाको प्रदर्शन हुने उनले जानकारी दिइन् । एक्स्पोमा ६० भन्दा बढी स्टल रहने र प्रति स्टल भाडा २० हजार रुपैयाँ निर्धारण गरिएको उनको भनाइ छ ।
भाडा तिर्न नसक्ने १० जना महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए । एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने तीन दिनमा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।