काठमाडौँ। काठमाडौँको सिनामंगलमा बरामद गरिएको ६१ किलो सुन तस्करीमा संलग्न व्यक्तिहरुसँग जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जानकारी लिएको छ।
सिआइबीको अनुसन्धान टोलीले आज कार्यालय महाराजगञ्जमा बोलाएर सोधपुछ गरेको सिआइबी श्रोतले थाहाखबरलाई जानकारी दिएको छ। सुन तस्करीमा जोडिएका तिब्तीयन मूलका बेल्जियम नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपतिको परिवारको सम्बन्ध सार्वजनिक भएको थियो। त्यसकारण उनीसँग जानकारी लिइएको प्रहरीले जनाएको छ।
उनीसँग नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको परिवारसँग पनि सम्बन्ध रहेको पत्ता लागेको थियो। त्यसकारण महराका छोरा राहुल ुभेपुमा राखेर ल्याइएको सुन प्रकरणमा यसअघि नै पक्राउ परिसकेका छन्।
उपाध्यक्ष महराले पनि उनीसँग कुराकानी भएको स्वीकार गरिसकेका छन्। छिरिङले रोल्पाकी अमला रोका मगरसँग विवाह गरेकाले त्यही आधारमा पुनका परिवारसँग सम्बन्ध बढाएको अनुमान गरिएको छ।
पुन छिरिङलाई लिएर हवाई मार्गमार्फत गोसाईंकुण्ड भ्रमण गरेको तस्वीर सार्वजनिक भएको थियो। दावाले नक्कली कागजात पेश गरेर काभ्रेबाट नेपाली नागरिकता लिएको खुलेको छ । उनी अहिले प्रहरी हिरासतमा छन्।












