काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने चेतावनी दिएपछि उनलाई कारबाही गर्ने विषयमा छलफल भएको छ । साइबर कानुनका विज्ञ एवं पूर्वन्यायाधीश डा श्रीकृष्ण भट्टराईले सामाजिक सञ्जालमा जनतालाई उत्तेजित हुने किसिमको स्टाटस लेख्नु गलत भएको बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा के गर्न सकिन्छ भन्ने बारेमा गृह मन्त्रालयले छलफल गरिरहेको बताए । सबैको अभिभावक, महनगरको पिताले यस किसिमको भनाइ पोस्ट गर्नु गम्भीर विषय भएको र यसले उहाको छविमाथि नै प्रश्न खडा गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले यो विषयमा मेयरसाव आफैंले समीक्षा गर्नुपर्ने बताए ।
प्रजिअ बस्नेतले भने– ‘हामीलाई मेयर साबले यतिसम्मको स्टाटस लेख्नुहोला जस्तो लागेको थिएन, मर्यादाक्रममा सहायकमन्त्री पछि र मुख्य सचिव भन्दा माथिको स्टाटस रहेको मेयरले मुलुकको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम गर्न मुख्य भूमिका खेल्नुपर्नेमा यस्तो सुरक्षा निकायलाई हतोत्साही हुने किसिमका अभिव्यक्ति दिनु गलत छ ।’
मेयर साहले दिएको अभिव्यक्तिको विषयमा आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । मेयर साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती भएको स्वीकार गरेको छैन । तर, सरकारले उनको गलत व्यवहारको बारेमा छलफल गरिरहेको छ । यस विषयमा आइतबार प्रधनमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । स्रोतले जानकारी दिएअनुसार मेयर साहले माफी माग्नुपर्ने वा नमागे थप के कदम चाल्ने ? लगायतका विषयमा छलफल भएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।












