काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको भू–भाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको हो ।
‘चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
नेपालले राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसङ्घ लगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने तर्फ पनि सो पार्टीले आशङ्का व्यक्त गरेको छ ।












