चितवन । व्यवसायी एवम् नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान आदेश भएका व्यवसायी प्रदीप रूङ्टा बिरामी भएको भन्दै अस्पताल चाहार्दै बसेका छन् ।
अदालतको आदेश लगत्तै बिरामी भएका रूङ्टा तत्कालै भरतपुर अस्पतालमा भर्ना भएका थिए । उनी केही दिन उपचारपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको थियो । उनलाई भरतपुर कारागार लगिएकोमा रात समेत नबिताई पुनः बिरामी भएको भन्दै चितवन मेडिकल कलेज पुगेको कारागार स्रोतले जनाएको छ ।
रूङ्टा हाल चितवन मेडिकल कलेज (सिएमसी)मा उपचार गराइरहेका छन् । अस्पतालका निर्देशक डा दयाराम लम्सालले रूङ्टा सिएमसीमै उपचाररत रहेको जानकारी दिए । रूङ्टालाई प्रेसरलगायतको समस्या देखिएपछि अस्पतालमा ल्याईएको जानकारी दिए ।
गत साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रूङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही दिनदेखि उनी उपचार गराइरहेका छन् । उच्च अदालतको थप आदेश आइनसकेकाले उनी अदालतले जेलमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पतालमा छन् ।
अनमोल फिड्स रूङ्टाले अर्का व्यवसायी शंकर कँडेलसँग किनेका थिए । यही किनबेचको कारोबारमा आफूलाई अप्ठेरो पारेको भन्दै वैशाख १९ गते आफ्नै कार्यकक्ष ९अनमोल फिड्स०मा कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए ।












