गल्कोट। गल्कोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् ।
नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।
हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृतलगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिँदैछन् । अस्पतालमा आधुनिक उपकरण पनि थपिँदै गएका छन् । नगरपालिकाले गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा राजेश पौडेल र डा मनोज कार्कीले सेवा दिइरहेका छन् । विशेषज्ञ चिकित्सकसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउन्ड’ उपकरण पनि आएको छ ।
नगर अस्पताललाई गल्कोट समाज जापानले रु ३५ लाखको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेको छ । समाजले नगर अस्पताल सञ्चालनका लागि यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । विदेशमा रहेर पनि गल्कोटेहले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरिरहेको उनको भनाइ छ ।
अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताए । एक वर्षदेखि गल्कोटमा १५ शय्याको सेवा प्रवाह गर्दै आएको उनी बताउछन् । यही अस्पालमा गुणस्तरीय सेवा दिन थालेपछि गल्कोटबाट उपचारका लागि बाहिर जानेको सङ्ख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।
“गलकोट समाज जापानले अहिलेमात्रै होइन, वर्षौँदेखि सहयोग गर्दै आएको छ, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन नगरपालिकासँग सहकार्य गर्दै आएको छ, अहिलेसम्म लाखौँका सामग्री प्राप्त भएको छ”, प्रवक्ता भण्डारीले भने, “अहिले स्वास्थ्यमा ठूलो परिवर्तन आएको छ, पहिले बिरामी हुँदाबित्तिकै हजारौँ खर्च गरेर सुविधासम्पन्न अस्पतालमा पुग्ने स्थानीय अहिले यही आएर उपचार गराउनुभएको छ, सन्तुष्ट पनि उत्तिकै हुनुहुन्छ ।”
गल्कोट क्षेत्रमै सहरबजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरूले जापानमा सहयोग जुटाएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताइन् । गल्कोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उनको भनाइ छ । लामो समयदेखि समाजिककार्य गर्दै आएको गल्कोट समाज जापानले रु १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ ।
नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले सेवा थपिँदै गएपछि बिरामीको सङ्ख्या बढ्दै गएको बताए । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गल्कोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक एक सय ७० देखि दुई सय जना बिरामीले उपचार सेवा लिने गरेको डा पौडेलले बताए ।
हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् । अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका सहित गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको उनको भनाइ छ ।
रासस












