काठमाडौँ। एक क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आजदेखि अनुसन्धान थालेको छ।
राजस्व अनुसन्धान विभागले आइतबार फाइल हस्तान्तरण गरेसँगै सिआइबीले आज अनुसन्धान अधिकृत तोकेर औपचारिक रुपमा अनुसन्धान थालेको हो।
सिआइबीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर निसिकएको सुन भन्सार कार्यालय अगाडिबाट यही साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
उक्त सुन प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएकामा एक जनालाई विरामीका कारण हाजीरी जवानीमा छाडिएको छ भने अन्य १९ जना हिरासतमा छन्। उनीहरुलाई पनि आइतबार नै सिआइबीको हिरासतमा सारिएको थियो ।












