इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा दोषी ठहर भएका छन्। इस्लामावादको जिल्ला तथा अदालतले इमरान खानलाई तीन वर्षको जेल सजायका साथै एक लाख रूपी जरिवाना सुनाएको छ।
खानले यो सजायविरुद्ध उच्च अदालतमा अपिल गर्ने मौका दिइएको छ। खानका वकिल सर्वोच्च अदालत पुगेका छन्। पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेपछि ट्रायल कोर्टका न्यायाधीशले पक्राउ पुर्जी जारी गरेका थिए।
यो आदेशपछि इमरान खानलाई लाहोरको जमान पार्कस्थित उनको घरबाट पक्राउ गरिएको छ। उनलाई लाहोरबाट इस्लामावाद लैजाने तयारी भइरहेको छ। इमरान खान तीन वर्षको जेल सजाय पाएपछि ५ वर्षका लागि चुनाव लड्न पनि अयोग्य भएका छन् ।
इमरान खानलाई सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरेको र सरकारी उपहार किन्न र बेच्न आफ्नो शक्ति प्रयोग गरेको आरोप लागेको थियो। यी उपहारहरू इमरान खानले आफ्नो विदेश भ्रमणका क्रममा प्राप्त गरेका थिए र यसको मूल्य १४ करोड पाकिस्तानी रुपीभन्दा बढी थियो।
यसपछि ट्रायल कोर्टले सुनुवाइपछि इमरान खानलाई सम्पत्ति लुकाउने र सरकारी उपहार बेचेकोमा दोषी ठहर गरेको थियो। यद्यपि इमरान खानका वकिलहरूले ट्रायल कोर्टका न्यायाधीश दिलावर हुमायुँ पूर्वाग्रही भएको आरोप लगाएका थिए। यस्तो अवस्थामा पाकिस्तानमा फेरि एकपटक हंगामा बढ्ने सम्भावना छ।
यसअघि पनि ९ मार्चमा इमरान खानलाई भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतभित्रबाट पक्राउ गरिएको थियो। त्यसपछि पाकिस्तानभर इमरान खानका समर्थकहरूले विरोध गरेका थिए।
खानका एक समर्थकले इस्लामाबादको अदालतले इमरान खानलाई राजनीतिक मुद्दा (तोशाखाना केस) मा तीन वर्षको सजाय दिने निर्णय अत्यन्त निन्दनीय भएको बताए। पाकिस्तानका अदालतहरू शक्तिशाली सेनाको ठूलो दबाबमा काम गरिरहेका छन्।












