-कुलप्रसाद काफ्ले
भरतपुर । सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउने तयारीमा लागेको भरतपुर महानगरपालिकाले प्रचारप्रसार थालिसकेको छ । अंग्रेजी नयाँ वर्ष–२०२४ सुरू हुन पाँच महिनामात्रै बाँकी छ । भरतपुरको पुलचोक–गोन्द्राङ सडक विस्तारको काम भने भ्रमण वर्षअघि सकिने लक्षण छैन । काम सक्नुपर्ने अन्तिम म्याद आगामी मंसिर मसान्तसम्म ९डिसेम्बर १६ तारिख०सम्ममात्रै छ ।
सडक विस्तारको काम छिटो सक्न भरतपुर महानगर प्रमुख रेनु दाहालले सडक डिभिजनलाई ताकेता गरिरहेकी छन् । यस आर्थिक वर्ष २०८०र८१ का लागि न्यून बजेट आएकाले समयमै काम सक्न गाह्रो हुने सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेल बताउँछन् । उनका अनुसार पुलचोक–गोन्द्राङ सडकलाई सरकारले यस आवमा पाँच करोड रूपैयाँमात्रै विनियोजन गरेको छ ।
‘६० करोडजतिको काम बाँकी छ, जम्मा पाँच करोडमात्रै आएको छ’, उनले भने, ‘पाँच करोडको काम त भइसकेको छ ।’ सडक विस्तारको काम हालसम्म करिब ७० प्रतिशत भएको उनले बताए । ठेकेदारले ६७ प्रतिशत भुक्तानी लगिसकेको छ । यो सडकका लागि सरकारले गत आवमा ३५ करोड विनियोजन गरेकोमा ठेकेदारले ३४ करोड रूपैयाँ लगेको थियो । बजेट संशोधन भइहाले पनि थप बजेट आउन पुस लाग्ने उनी बताउँछन् ।
‘भ्रमण वर्ष सुरू हुने बेलासम्म एक लेयरको पिच त हुन्छ, धुलो उड्दैन’, उनी भन्छन्, ‘सबै काम सकिन त गाह्रो छ । ठेकेदारलाई काम गर्न भन्यो भने पनि पैसाको कुरा आइहाल्छ ।’ यस आवका लागि विनियोजित पाँच करोड रूपैयाँ चार किस्तामा दिइने उनले बताए । बजेट फुकुवा भएपछि पहिलो किस्तामा ठेकेदारले एक करोड २५ लाख रूपैयाँमात्रै पाउने उनी बताउँछन् । गत आवमा भएको कामको २५ करोडभन्दा बढी भुक्तानी दिन नसकिएको उनले बताए । ‘स्थिति अल्लि गम्भीर नै छ । यस आवमा काम खासै हुँदैन जस्तो छ’, उनले भने ।
भरतपुर महानगरको कार्यालयअगाडि र लायन्सचोकदेखि पुलचोकसम्म खानेपानीका पाइप स्थानान्तरण गर्ने काम भइरहेको छ । त्यस्तै, सिएमसीअगाडि र रिजालचोकनजिक मेडियमको काम हुँदै छ । भतपुर एयरपोर्टअगाडि बेसको काम भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । ‘मेसिनबाट हुने मुख्य कामहरु सकिएको छ । लायन्सचोकदेखि पुलचोकसम्म सर्भिस लेनको बाँकी छ’, उनले भने, ‘पुंगी खोलामा आधा कल्भर्ट बनेको छ ।’
भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने ६।८ किमी लामो यो सडकमा सवारी चापका कारण दुर्घटना बढेकाले सहरी सौन्दर्यीकरणसमेत गर्ने गरी सडक विस्तार थालिएको हो । सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको हो । सडकको लागत एक अर्ब १२ करोड रूपैयाँ छ ।












