काठमाण्डौ । सेवा प्रभावित हुने गरी सरकारी अधिकृतहरू कार्यालय समयमा समेत लोकसेवा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट धाउन थालेका छन् ।
कामै नगरेर तथा बिदा लिएर लोकसेवा तयारीको कक्षा लिन जाने सचिवसम्मका ७० अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
कार्यालयको काम र सेवाप्रवाहमा असर नपर्ने गरी मापदण्डका आधारमा स्वीकृति लिएर कार्यालय समयबाहिर यसरी पढाउन पाउने व्यवस्था छ । तर, अनुमति नलिई इन्स्टिच्युटमा पढाउनेहरूलाई मन्त्रालयले स्पष्टीकरण सोध्न तथा कारबाही गर्न सक्छ । अनुमति नलिई लोकसेवा कक्षा लिने कर्मचारीहरूविरुद्ध २५ माघ ०७९ मा अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले उजुरी सम्बन्धमा छानबिन र आवश्यक कारबाही गरी त्यसको जानकारी गराउन ६ जेठमा मन्त्रालयलाई उजुरीसहित पत्र काटेको थियो । अख्तियारका प्रवक्ता भोला दाहालले उजुरी परेपछि सम्बन्धितहरूलाई आवश्यक कारबाही गर्न संघीय मामिलालाई लेखी पठाइएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।












