चितवन । व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदिप रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ ।
आज चितवन जिल्ला अदालतमा बयानका लागि तीन महिनापछि हाजिर भएका रुँगटालाई जिल्ला न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
आज दिनभर भएको बयानपछि आत्महत्या दुरुत्साहनका आरोपी रुङ्गटालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए ।
कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए । वैशाख १९ मा कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । कँडेलको न्यायको लागि भन्दै उनका समर्थकले चितवन बन्द र चक्काजाम गर्नुका साथै पटक पटक प्रदर्शन गर्दै आएका थिए ।
अर्को आरोपी अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल भने केही दिन अघि उच्च अदालत हेटौँडाबाट तारेखमा रिहा भएका हुन् । उनी वैशाख २२ गते बाराको सिमाराबाट पक्राउ परेका थिए ।












