काठमाण्डौ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालको राजनीति कांग्रेसले सम्हालिएर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस बागमती प्रदेश विभागका पदाधिकारी र सदस्यहरूलाई मनोनयन पत्र प्रदान तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसले अब बलियो नेता बनाउने गरी अघि बढ्नुपर्ने बताए ।
मनोनीत संयोजक तथा सदस्यहरूलाई बधाई दिँदै कांग्रेसलाई बागमती प्रदेशमै बहुमत दिलाउने गरी क्रियाशील हुन सभापति बानियाँको निर्देशन थियो । बागमती प्रदेशले संघीय संरचनाअनुसार विभाग गठन गरेको भन्दै विधान कार्यान्वयनमा बागमती प्रदेशअघि बढेको उनले बताए ।
सभापति बानियाँले अहिले कांग्रेसमा निराशा उत्पन्न भइ पार्टी कार्यकर्ता र मतदातामा असन्तुष्ट रहेको भन्दै कांग्रेस बलियो नभइ देश विकास नहुने बताए । ‘नेपाली कांग्रेस जनताको पार्टी हो । यहाँ कोही बा र भगवान छैनन् । कांग्रेसमा सबै समान र बराबर छन् । जनताको कांग्रेस भएर अघि बढ्नुपर्छ,’ बानियाँले भने ।
कांग्रेसलाई विगतमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह जस्ता नेताहरूले बलियो बनाए झैं अहिले पनि नयाँ पुस्ताका नेताहरू त्यसरी नै आउनुपर्ने उनको भनाइ थियो । अब कांग्रेसको इतिहास हेरेर मात्र जनताले भोट नदिने भएकाले अहिलेदेखि नै जनताको पक्षमा काम गर्ने गरी अघि बढ्नुपर्ने सभापति बानियाँले बताए ।












