काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौँमा वर्षातका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले त्यसका लागि सबैको सहयोग जरुरी हुने बताए।
बैठकमा सांसदहरुले गत श्रावण ७ गते सामाखुशी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यसक्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन माग गरेका थिए।
जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने बताए। उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे।
मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडकलगायतका समस्याबाट कुनै पनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताए।
मन्त्री ज्वालाले वर्षातका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिनका लागि सक्दो प्रयास गरिरहेको दावी पनि गरे। उनले मुुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि जानकारी दिए।












