काठमाडौँ। निर्माण व्यवसायीले प्रधानमन्त्री कार्यालयसामु डोजर तेर्स्याएर विरोध प्रदर्शन गरेका छन्।
मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडै सम्बोधन गरी निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने माग गरे।
नेपाल सरकारले बनाएका योजना ४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरे पनि स्रोत नभएका योजनाको म्याद थप गर्न लागेको उनले बताए। उनले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने माग गरे।
प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई काममा फर्काउन ठोस कार्ययोजना बनाई माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।
उनले भन्ने, ‘आज हाम्रो आन्दोलनको तेस्रो दिन प्रधानमन्त्रीको निवासमा घेराउ गर्यौँ। निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक हामी निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले गरोस् भनेर निषेधित क्षेत्रको मर्यादा राख्दै धर्ना गरेका हौँ। भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्छ भनेर प्रमुख माग लिएर आएका छौँ। ९ बुँदे माग लिएर आन्दोलनरत छौँ। प्रधानमन्त्रीले ठोस कार्ययोजना बनाई हाम्रा माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ।’
व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यावहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेका प्लाकार्ड समेत प्रदर्शन गरेका छन्।












