काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एक व्यक्तिलाई दुई पटक भन्दा बढी प्रधानमन्त्री, मन्त्री हुन नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री दुईपटक भन्दा बढी हुन नदिन कडाइका साथ लागू गर्न प्रस्ताव गरेका हुन्।
‘एउटा व्यक्तिलाई चार पटकभन्दा बढी संघीय संसदको टिकट दिनु हुँदैन। प्रदेशलाई दुईपटकमा कायम गरिनुपर्छ। समानुपातिकको व्यवस्था नहटेसम्म एकपटकभन्दा बढी दोहोर्याएर समानुपातिकको प्रतिनिधित्व हुनुहुँदैन। पार्टीबाट सरकारमा नेतृत्व गर्दा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्री दुईपटक भन्दा बढी हुन नदिन कडाईका साथ लागू गरौं,’ उनले भने।
नेता पौडेलले पार्टीको कार्यसम्पादनको निर्णयलाई केन्द्रीय समितिले दुई महिनाभित्र पारित व्यवस्था भए पनि त्यसपछि पारित नभए स्वतः बदर हुने व्यवस्था गर्न आग्रह गरेका छन्।












