काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी अनलाइन प्रणालीको विकास गरेको छ । यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेको हो ।
यो प्रणालीबाट सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्नेछन् । यसअघि लाइसेन्स प्रक्रियाको अनलाइन आवेदन दिन सकिने व्यवस्था भए पनि फर्म बुझाउने, राजस्व भुक्तानी देखि लिखित र प्रयोगात्मक परीक्षा यातायात कार्यालयमा नै गएर दिनुपर्ने व्यवस्था रहेको थियो । तर, यस प्रविधिको सुरुवातसँगै अब आवेदनपछि सेवाग्राहीले एकपटक मात्र कार्यालय गए हुने भएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
हाल देशभर दैनिक सरदर ६ देखि ७ हजार सेवाग्राहीले सवारी चालक अनुमति पत्रका लागि आवेदन दिने गरेका छन् । सेवाग्राहीको चाप अधिक भएकोले यातायात कार्यालय/सेवा कार्यालयहरूमा दैनिक सेवा प्रवाहको कोटा निर्धारण गरिएको छ ।
साबिकमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन आवेदनको व्यवस्था भए पनि सवारी चालक अनुमति पत्र प्राप्त गर्न सेवाग्राहीले लिखित तथा प्रयोगात्मक परीक्षा स्थल बाहेक यातायात कार्यालयमा नै धेरै पटक लाइन बस्नुपर्ने गरेको अवस्था विद्यमान छ । यसले गर्दा सेवाग्राहीले धेरै समय र मेहनत खर्च गर्नुपरेको छ भने यातायात कार्यालयमा समेत धेरै कर्मचारी खटाउनुपर्ने, कर्मचारी बिदामा बस्दा सेवा प्रभावित हुने जस्ता समस्या रहेका छन् ।
सवारी चालक अनुमति पत्र सम्बन्धी काम धेरै शाखा तथा फाँटबाट हुँदा अभिलेख व्यवस्थापन समेत त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । यो अवस्थालाई सुधार गरी देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणालीको विकास गरेको विभागले जनाएको छ ।












