काठमाडौं। काठमाडौं महानगरपालिकाले निजी विद्यालयले कक्षा–११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थीहरूको छनोटसम्बन्धी परीक्षा आफैँले गर्ने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम उक्त व्यवस्था गर्न लागेको बताएका हुन्।
उनले भनेका छन्,‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र०८१ देखि काठमाडौं महानगरपालिकाले आफै नै सञ्चालन गर्नेछ।’
उनले परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी,गरिब लगायतका छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने पनि जानकारी दिए।












