काठमाडौँ। उपसभामुख इन्दिरा रानाले संसद्मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रानाले नेपालको संसद्मा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले भनिन्, ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हामीमा खै त त्यस्तो? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’
उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताइन् ।












