काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुर्याए पनि ग्रेडिङ पद्धतिबारे अझै अन्योल कायमै रहेको छ। २०७९ सालको एसइई नतिजा यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने बोर्डको लक्ष्य रहे पनि कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने टुंगो छैन।
बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार नकट्ने तर सकेसम्म तेस्रो साताभित्रमा नतिजा सार्वजनिक गरिने लक्ष्य लिएको बताए।
‘हामी असारभित्र त जसरी पनि नतिजा प्रकाशन गर्छौं, हाम्रो लक्ष्य चाहीं असार तेस्रो हप्तासम्म प्रकाशन गर्ने छ, जति सक्दो छिटो प्रकाशन गर्ने टार्गेटमा जान्छौँ, अहिले नतिजा प्रशोधनको काम भइरहेको छ, यही काममा लागेको छौँ,’ उनले भने।
परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन पनि माग गरेको छ। बोर्डले असार ६ गते एसएमएस, आइभिआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।
सूचनाअनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ। संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ।
एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस, आइभिआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ।
नतिजा प्रकाशनको तयारीमा बोर्ड रहे पनि हालसम्म पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही निर्णय भएको छैन। यस विषयमा परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यस विषयमा छलफल भइरहेको जानकारी दिए।
‘कुन ग्रेडिङ पद्धतिबाट नतिजा प्रकाशन गर्ने भन्नेबारे छलफल भइरहेको छ, केही दिनमा यसबारे निर्णय हुन्छ,’ उनले भने।












