चितवन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन्।
असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए।
अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए।
उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए। उनले भने ‘किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन। अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर।’












