भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बदनाम गर्न जलहरीको विषयमा झुट प्रचार गरिएको बताएका छन् । धान दिवस मनाउन आज चितवन आएका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै झुटको प्रचारमा नलाग्न आग्रह गरे । जलहरीको विषयमा एक जना सांसद संसदमा गैरजिम्मेवार र असभ्य रुपमा प्रस्तुत भएको उनले टिप्पणी गरे ।
गैरजिम्मेवार र असभ्यताका साथ सुनको ठाउँमा पित्तल चढाएको भनेर अमर्यादित, असत्य, झुट प्रचार गरिएको उनको भनाइ छ । झुटका पछाडि केहि दिन सञ्चारमाध्यम लगायत पनि कुदेको उनले बताए । ‘मैले त केहि रकम त्यहाँ दिनुपथ्र्याे । अहिले कोहि कोहि पार्टीका मान्छेले भन्दै छन्, धार्मिक स्थलमा किन खर्च गर्ने ? राष्ट्रिय ढुकुटीमा ल्याएर राख्नुपर्छ भन्दै छन्’, उनले भने, ‘यस्ता क्षणिक कुरा गर्न सजिलो हुन्छ । पशुपतिमा सुकुमबासी बस्ती बसाईदियो भने राम्रो हुन्छ भन्ने पनि छन् ।’
जलहरीका नाममा कसैले सुन खाए पनि त्यो आफुसँग सम्बन्धित नहुने उनले बताए । आफु प्रधानमन्त्री हुँदा जलहरी राख्न पशुपति विकास कोषलाई पैसा दिएको उनको भनाइ छ । शिलान्यास र उद्घाटन गरिएको ठाउँमा शिलान्यास र उद्घाटन गर्नेका नाम लेखिनु सामान्य भएको भन्दै उनले आफ्नो नाम आफैले टाँसे जसरी हल्ला गरिएको बताए । ‘मैले लगेर टाँसेको हो र नाम ? हल्लाका पछाडि कुद्ने होइन’, उनले भने ।












