काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको बताएका छन्।
बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको उनको भनाइ छ।
विचारबिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको भन्दै ओलीले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।
‘राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ। विचार नचाहिने, बिना विचारको विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ?’ ओलीले भने, ‘कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्। तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उतारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’
मौलिकताबिनाको आन्दोलनहरू सफल हुन नसक्ने उनले बताए।












