काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज साविक विजेता भारतसँग भिड्दै छ। खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।
आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो। नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल गरेका थिए।
भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। साफमा सर्वाधिक ८ पटकको विजेता भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ।
साफको पछिल्लो संस्करण मालदिभ्समा नेपाल र भारतले फाइनल खेलेका थिए। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो। तर नेपाल ३–० ले हार्यो।
नेपाली टोली छोटो तयारीमा साफ खेल्न भारत पुगेको हो। उता भारत भने पछिल्लो समय उच्च मनोबलमा छ। साफअघि इन्टरमन्टिनेन्टल उपाधि जितेको भारत साफको उपाधि पनि घरेलु भूमिमा नै राख्ने राणनितिमा छ।












