काठमाडौँ । राष्ट्रिय सूचना आयोगले गत चैत, वैशाख र जेठ गरी तीनमा महिनामा गरेका काम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता कमला ओली थापाले शुक्रवार जारी गरेको विवरणमा भ्रमणदेखि अभिमुखीकरण तालिम, दर्ता निवेदन र त्यसमाथिका कारबाहीबारे उल्लेख छ ।
आयोगका अनुसार चैत महिनामा आयोगमा ५८ वटा, २०८० वैशाखमा ४३ वटा र जेठ महिनामा ६५ गरी १६६ वटा पुनरावेदन दर्ता भएका छन् ।
त्यसमध्ये चैत महिनामा दफा १०(२) बमोजिम लिखित जवाफ पेस गर्नू भन्ने ९६ वटा र दफा २७(३) बमोजिम लिखित जवाफ पेस गर्नू भन्ने आदेश १ वटा, वैशाख महिनामा ४३ वटा, जेठ महिनामा ७७ वटा आदेश भएका छन् ।
दफा १०(३) (क) बमोजिम सूचना उपलब्ध गराउनू भन्ने चैत महिनामा १३४, वैशाख महिनामा ९६ र जेठ महिनामा ५६ वटा आदेश भए, जेठ महिनामा दफा ३२ (१) बमोजिम कारबाही किन नगर्ने भन्ने आदेश २ वटा भएका छन् ।
त्यस्तै लोक सेवा आयोगले गरेको वर्गीकरण खारेज गरी आयोगका कागजात वा विवरण सम्बन्धित व्यक्तिलाई दिन जेठमा दफा २७(४) र दफा १९(ङ) बमोजिम १ वटा आदेश भयो भने सूचना उपलब्ध गराइ सकेको अवस्थामा निरर्थक देखिएका चैत महिनामा १८ वटा, वैशाख महिनामा २० वटा र जेठ महिनामा ७ वटा पुनरावेदन उपर दफा १०(३)(ख) बमोजिम खारेज गर्नू भन्ने आदेश भयो ।
आयोगमा यस आर्थिक वर्षमा १०५३ वटा पुनरावेदन हालसम्म दर्ता भएको आयोगले जनाएको छ ।












