प्रेस स्वतन्त्रता र पत्रकार पर्यायवाची शब्द जस्तै हुन् । पत्रकारको लागी प्रेस स्वतन्त्रता महत्वपुर्ण छ, यसको अभावमा पत्रकारले आम मानिससम्म सहि सूचना सम्प्रेषण गर्न असमर्थ हुन्छ । हाम्रो जस्तो लोकतान्त्रिक मूलुकमा पत्रकारको सुरक्षा, हकहित र सूचनाको अधिकार शिर्ष स्थानमा हुनुपर्ने कानुन बनेको छ ।
विश्वको प्रेस स्वतन्त्रतालाई नियाल्दा, प्रेसका चारवटा सिद्धान्तबाट मिडिया अगाडी बढ्ने गरेको देख्न सकिन्छ । अधिनायकवाद, उदारवाद, कम्युनिष्ट र सामाजिक उत्तरदायित्व यी चार प्रेसका सिद्धान्तहरु हुन् । अधिनायकमा सरकारको विरुद्ध लेख्न पाइँदैन, उदारवादमा स्वतन्त्र रुपमा विषयवस्तु उठान गर्न सकिन्छ ।
अमेरिका, बेलायत तथा जापान जस्ता देशहरु उदारवादी सिद्धान्तका उपज हुन् । त्यस्तै कम्युनिष्ट सिद्धान्त अनुसार, पार्टीको गतिविधी विरुद्ध कलम चलाउन पाइँदैन । यस्तो सिद्धान्त चीनमा रहेको छ । प्रेस स्वतन्त्रता हरेक देशमा हुन्छ, तर देशअनुसार निश्चित घेराभित्र रहेर मात्र सूचना सम्पेषण गर्न पाइन्छ ।
सामाजिक उत्तरदायित्वको सिद्धान्तबाट हाम्रो देश नेपाललाई वर्गीकरण गर्न सकिन्छ । यस सिद्धान्त अनुसार देश, समाज र हरेक सामाजिक प्राणीलाई हानी गर्ने किसिमका सूचना दिन पाइँदैन । राज्यको सूरक्षा, जनताको सूरक्षा लाई उच्च स्थानका राख्दै समाजले स्वीकार नगरेको विषयवस्तुको उठान गर्न मिल्दैन ।
त्यस्तै, गाली बेइज्जती, प्रतिलिपी अधिकार र अदालतको अबहेलना गर्न पनि पाइँदैन । यस सिद्धान्तलाई पछ्याउने मिडियाले निश्चित मापदण्डको पालना गर्दै सरकारका हरेक गतिविधिलाई निष्पक्ष रुपमा केलाउन पाउने अधिकार हुन्छ । हाम्रो देशका मिडियालाई सरकारका कमी कमजोरी औँल्याउनुको साथै सहि मार्गदर्शन गर्ने अधिकार पनि कानुनमा उल्लेख गरिएको छ ।
एसियाकै सबैभन्दा शक्तिशाली कानुन भएको स्वतन्त्र देशको रुपमा नेपाललाई चिन्ने गरिन्छ । हाम्रो देशका मिडिया हाउसले जति स्वतन्त्ररुपमा सूचना सम्प्रेषण गर्न पाउने अधिकार कानुनमा पाएका छन्, त्यति स्वतन्त्र व्यवहार भोग्न पाएका छैनन् । प्रेस स्वतन्त्रताको महत्वपूर्ण अभिन्न अंग भनेको (सूचनाको हक) पनि हो । यद्यपि सूचनाको हकको अधिकार सम्पूर्ण नागरिकको लागि निष्काशन गरिएको एउटा अधिकार भएतापनि, हाम्रो देशमा पत्रकारको पहुुँचमा नै प्रश्न उब्जिएको महसुस हुन्छ ।
केहि समयअघि मात्रै उज्यालो नेटवर्कका दुई पत्रकारहरुलाई प्रहरीले पक्राउ गर्नुपनि प्रेस स्वतन्त्रता विरोधी कदमका रुपमा लिन सकिन्छ । सञ्चार माध्यमहरुलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल भएकाले सञ्चारमाध्यम भित्रै छिरेर पत्रकारहरुलाई पक्राउ गर्नु उचित होइन । उनीहरुले गरेको काम गलत पुष्टि हुन आए त्यसलाई काउन्सिलले कडाईका साथ कारबाही गर्न भने पछि हट्नु हुँदैन ।
देशमा सरकारी निकायबाट विभिन्न कार्ययोजना तयार भइरहेको हुन्छ । तथापी यस्ता सरकारी निकायबाटै एउटा पत्रकारलाई सहि सूचना पाउन नै कठिन छ । जसरी एउटा पत्रकार हरेक नागरिकको सूचनाको माध्यमको रुपमा छिटो र स्वतन्त्र रुपमा सूचना पाउनुपर्ने र सम्प्रेषण गर्नुपर्ने हो, त्यसैमा पनि परिस्थिती सहज भइरहेको छैन ।
हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा एउटा पत्रकारलाई नै सूचनाको हकमा पहुँच पुग्न मुस्किल हुन्छ भने आममानिसले कस्तो अपेक्षा गर्नु यो मुलुकबाट ?
पत्रकारले सरकारको राम्रा अथवा नराम्रा कामको विरुद्ध खुलेर लेख्न पाउने अधिकार हाम्रो कानुनमा सुरक्षित छ । तरपनि देशको अवस्थालाई नियालेर हेर्ने हो भने, उत्कृष्ट मानिएका मिडियाहरु पनि राजनैतिक प्रलोभनको सिकार भैरहेको अवस्था देख्न सकिन्छ ।
राजनैतिक पार्टीबाट नै टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन चलिरहेका छन्, जसको कारणपनि उनीहरुले नराम्रो कामको विरुद्धमा निष्पक्ष सूचना दिन सकिरहेका छैनन् । अनि केहि पत्रकारहरु नेताको इसारामा चलिरहेका हुन्छन् । यसले निष्पक्ष पत्रकारिता र प्रेस स्वतन्त्रता कायम राख्न चुनौति थपिएको छ ।
एउटा असल पत्रकार राष्ट्र निर्माण र विकासको मार्गदर्शक पनि हो । पत्रकारले जसरी देशको विकास र प्रगतीको लागी कलम चलाउनुपर्ने हो, त्यसरी अगाडी बढ्नै सकिरहेको छैन । यसको कारण राजनैतिक प्रलोभन, आर्थिक उन्नती अथवा पे्रस स्वतन्त्रता हनन जुनसुकै कारण पनि हुनसक्छ ।
देशमा थोरै मात्र पत्रकारले यस विषयमा कलम चलाएका छन् । मिडियाले देशलाई प्रगतितर्फ उन्मूख बनाउने अभिलाषा कल्पनामा मात्रै सिमीत भएको अनुभव गर्न सकिन्छ ।
केहिदिन अगाडी रामनवमीको अवसरमा सरकारले पशुपति मन्दिरमा रहेका राम, सीता र हनुमानको मूर्तीलाई चितवनको माडीमा स्थापना ग¥यो । तर, सोही क्षेत्रमा बसोबास गर्दै आइरहेका चेपाङ समूदायको पीडालाई सरकारले नजरअन्दाज गरेको थियो । कोरोना नियन्त्रण गर्न जनतालाई २५ जना भन्दा बढि भेला नहुनु भनेर आदेश दिएको सरकारले हजारौँको उपस्थितीमा मूर्ति स्थापना गर्नु गलत थियो ।
त्यसका विरुद्ध मिडियाहरुमा समाचार आउनु उपयुक्त हो । त्यस्ता समाचारलाई लिएर सरकारमा सहभागि दलका केहि कार्यकर्ताले सरकारको विरुद्धमा लेखियो, सहि समयमा आएन भनेर धम्कीपूर्ण भाषा समेत बोलिरहेको देखियो । यस्ता समाचारहरु अझै धेरै आउनुपर्छ, जसले सरकारको मार्गनिर्देशन गर्न सक्छन् । तर, एउटा पत्रकारको स्वतन्त्रतालाई कसरी राजनैतिक दमन गर्न प्रयास गर्न खोजिन्छ भन्ने यो गतिलो उदाहरण बन्न सक्छ ।
प्रेस स्वतन्त्रतामा पत्रकारले स्वतन्त्र रुपमा कसैको डर, प्रलोभनमा नपरेर समाचार, लेख तथा सम्पादकिय प्रकाशन गर्न पाउनुपर्छ । प्रेस स्वतन्त्रताको माथी उल्लेख गरिएका मापदण्डको पालना गर्दै देशका हरेक विषयवस्तुलाई निष्पक्ष रुपमा नागरिक समक्ष ल्याउन पाउनु नै पे्रस स्वतन्त्रता हो । विभिन्न किसिमका राजनैतिक तथा आर्थिक प्रलोभनामा परेर नै पे्रस स्वतन्त्रता तथा निष्पक्षता माथी नै प्रश्न उठ्न थालेको छ ।
समाचारको नाममा गलत सूचना र त्रास फैलाउने मिडिया वा पत्रकारलाई प्रेस काउन्सिलले कारबाही र नियमन गर्नुपर्छ । पछिल्लो समयमा विभिन्न अनलाइन तथा युटुब च्यानलमार्फत सत्यता भन्दा बढि भ्रम छर्ने किसिमका सूचना प्रसारण गरिरहेका छन् । यस्ता नकक्ली मिडियाले आर्थिक पूर्तीको लागी नागरिकको भावनामाथी खेलबाड गरिरहेका छन् ।
प्रेस स्वतन्त्रताको मापदण्ड विपरित गएर जनताको व्यक्तिगत मानसम्मानमा ठेस पु¥याउने खालका विषयवस्तु प्रसारण गरिरहेका छन् । व्यापारको नाममा बाल मष्तिष्कमा पर्ने आघातका कुरादेखि लिएर विभिन्न किसिमका झूठा सामग्री प्रकाशन तथा प्रशारण पनि हुने गरेका छन् । यस्ता किसिमका गलत मिडिया र प्रेस स्वतन्त्रताको आडमा गलत काम गरिरहेकालाई प्रेस काउन्सिलले कडा कारबाही गर्न सकिरहेको छैन ।
अर्को महत्वपूर्ण समस्या भनेको पत्रकारको सुरक्षाको ग्यारेन्टी पनि हो । पत्रकारलाई राज्यको चौँथो अभिन्न अंग मानिन्छ । देशको अभिन्न अंग भएको हिसाबले एउटा पत्रकारले कसैको डर धम्की तथा निर्देशन विना नै स्वतन्त्र रुपमा सूचना सम्प्रेषण गर्न पाउनुपर्छ । तरपनि, समाचार लेख्ने क्रममा भएका कमी कमजोरीलाई माफी मागेर पनि सल्टाउन सकिन्छ ।
पत्रकारले कसैलाई नराम्रो बनाउनैको लागी समाचार लेखिनु आफैका गलत हो । तर, अन्जानमा भएको केहि कमी कमजोरीलाई लिएर व्यक्तिगत धम्की आउनु जायज विषय होइन । कारबाही नै गर्ने हो भनेपनि, कानुनी बाटो छ, तर पत्रकारलाई व्यक्तिगत धम्की तथा गिरफ्तारी सहने विषय नै होइन् ।
नेपालको कानुनमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गरिएको छ । तर, राज्यले नै प्रहरी खटाएर पत्रकारहरुमाथी नै दूव्र्यवहार गरिदै आएको छ । सरकारले पत्रकारको सुरक्षा गर्नुको सट्टा कानुन विपरित गएर पत्रकारलाई कहिले पानीको फोहोरा, कहिले लाठी त कहिले गिरफ्तारी गरेको छ । यसरी बारम्बार पत्रकारमाथी राज्यबाट नै भइरहेका यस्ता गतिविधीले पत्रकार स्वतन्त्रताको हनन भइरहेको महसुस हुन्छ ।
पछिल्ला दिनहरुका मात्र नभएर यस्ता घटनाहरु पत्रकारिताको सुरुवाती अवस्थादेखि नै वारम्बार दोहोरिदै आइरहेका छन् । त्यसैले पत्रकारको सूरक्षाको विषयलाई काुननमा मात्र सिमित नभएर व्यवहारमा पनि लागु गरियोस्, जसको कारण पत्रकारले स्वतन्त्रताको महसुस गर्न सकुन् ।
अन्ततः देशको कानुन, आचारसंहिता र नैतिकता अनुसार नेपालका मिडिया अगाडी बढ्ने वातावरण बन्ने हो भने देशले पक्कैपनि आर्थिक उन्नती गर्नुको साथै विकसित देश बन्नलाई पनि धेरै समय लाग्ने थिएन् । जसको लागी सबैभन्दा ठूलो विषय भनेको पत्रकारको सुरक्षा, पे्रस स्वतन्त्रता, सूचनाको हक र उचित पारिश्रमिक नै हो ।
पत्रकारको न्युनतम पारिश्रमिकले अन्य व्यवसाय अथवा जुनसुकै किसिमको पनि प्रलोेभनमा पर्ने अवस्थाको सिर्जना भएन भने पनि राजनैतिक चम्चा बनेर हिँड्नुपर्ने दिन सायदै आउँदैनन् होला । पत्रकारको सुरक्षामा ध्यान पुग्ने र आर्थिक समस्या नहुने हो भने पनि पछिल्लो समय देशमा देखिएको समस्या हटेर जाने थियो ।
कुनै समय यस्तो पनि आउनेछ, पत्रकारले देशलाई सुमार्गतर्फ डो¥याउँदै नेपाललाई समृद्धिको यात्रामा धेरै अगाडि लैजानेछन् ।











