चितवन । चितवनको भरतपुर महानगरपालिका पटिहानीमा ६० वर्ष साइकलसँग कार्यक्रम सम्पन्न भएको छ । ६० बर्ष भन्दा माथिका पुरुषहरुसँग करिब ६० किमी साईकल यात्रा आइतवार सम्पन्न गरिएको प्रकृति संरक्षणका अभियानकर्ता अपिल घिमिरेले जानकारी दिए ।
साइकल यात्रा अविस्मरणीय रहेको उल्लेख गर्दै घिमिरेले भनेका छन्, “उहाँहरुको उत्साहजनक उपस्थिती र साथले सार्है खुसी लागेको छ । ”
पैसठ्ठी जनाको सहभागीता रहेको उक्त साईकल यात्रामा बढीमा ७९ बर्ष उमेरका पुरुषसम्म सहभागी थिए भने धेरै जनाको उमेर ७० रहेको घिमिरेले जानकारी दिएका छन्।
साइकल यात्रा पश्चिम चितवनको पटिहानी, पकौडी देखि मेघौली हुँदै गोलाघाटसम्म पुगेर सम्पन्न भएको हो । साईकललाई स्वास्थ्य, वातावरण र पर्यटनसँग जोड्ने उद्देश्यले साईकल यात्रा गरिएको हो ।
भरतपुर नगरपालिका–२७ को कार्यालय, मेघौली उपभोक्ता समिति, मेघौली पर्यटन बिकास समिति र पर्यटन व्यवसायीहरुले यस कार्यक्रमलाई स्वागत गरेका हुन्। कार्यक्रम राप्ती तटीय सरसफाई अभियान चितवनको आयोजनामा सम्पन्न भएको हो ।











