भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले करिब ५९० लिटर अखाद्य ‘लक्ष्मी चुक अमिलो’ आज नष्ट गरेको छ । पकाएर तयार गरिएको खुला ५५० लिटर र बोतलमा प्याकिङ गरिएको ४० लिटर उक्त पदार्थ नष्ट गरिएको हो ।
उच्च मात्रामा साइट्रिक एसिड र पिठोजन्य पदार्थ मिसाएर बनाइएको कालो पदार्थलाई चुक अमिलो भनि विक्री गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिका–९ बसन्त चोकस्थित लक्ष्मी चुक अमिलो उद्योगमा पुगेर उक्त पदार्थ नष्ट गरिएको हो ।
प्याकिङ गरिएको कालो पदार्थको बोतलमा उद्योगको ठेगाना खैरहनी उल्लेख छ । उत्पादन भने भरतपुरमा भइरहेको पाइएको हो । चुक अमिलो भनिने अखाद्य पदार्थ नष्ट गर्ने क्रममा उद्योगको गोदाममा छ बोरा बोरा साइट्रिक एसिड भेटिएको उनले बताए । खाद्य प्रविधिले दुई महिना अघि उद्योगमा पुगेर उक्त पदार्थको नमुना संकलन गरि परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।