काठमाडौँ । सत्ता गठबन्धनबाट चितवन– २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। गत आम चुनावमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नागरिकता प्रकरण दोषी ठहर भएपछि पद खाली भएको थियो ।
आगामी वैशाख १० गते चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस चितवनले ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समावेश थियो ।
१३ जना मध्येबाट श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ । बिहीबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने ती पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीको मुलधारकै मान्छेलाई दिनेमा सहमत भएका छौं । अस्तिको जस्तो उमेश श्रेष्ठ जस्तो बाहिरबाट उम्मेदवार नबनाउने सबैको समझदारी छ । अब पूर्व जिल्लासभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नुहुन्छ ।’ औपचारिक निर्णय भने भोलि बस्ने कार्यसम्पादन समिति बैठकले गर्ने बताए ।
४३ वर्षीय श्रेष्ठ कांग्रेसमा प्रखर वक्ताका रुपमा चर्चित छन् । २०७४ को निर्वाचनमा उनी चितवन– २ को प्रदेश ‘क’ बाट उम्मेदवार थिए । तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घनश्याम दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए । २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनबाट ३६ वर्षकै उम्मेदवार उनी सभापति बनेका थिए ।
अर्थशास्त्र विषयमा स्नातकोत्तर )एमए) गरेका श्रेष्ठ कांग्रेस चितवनमा सानो उमेरै राजनीतिमा ठूलो फड्को मार्न सफल नेता हुन् । २०४८ सालबाट राजनीति यात्रा सुरू गरेका उनले नेविसंघ विद्यालय समितिको सचिव हुँदै दुई कार्यकाल नेविसंघ चितवन जिल्ला सचिव, दुई कार्यकाल नेविसंघ जिल्ला सभापति भएर काम गरेका थिए । यस्तै ०६६ सालदेखि उनले कांग्रेस पार्टी राजनीति यात्रा सुरू गरेका थिए । कांग्रेस चितवनको कार्यसमिति सदस्य, ०६९ सालमा चितवनको सचिव हुँदै ०७२ सालमा चितवनको पार्टी सभापति भए । कांग्रेसको १४ औं महाधिवेशनमा श्रेष्ठले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए । यता एमालेमा उम्मेदवार बन्न तीन जनाको मुख्य दाबेदारी छ ।
एमालेले कृष्णभक्त पोखरेल, देवी ज्ञवाली र विजय सुवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । पोखरेल गत निर्वाचनमा तेस्रो भएका थिए भने प्रदेशसभा सदस्यमा पराजित भएका थिए । एमाले जिल्ला अध्यक्ष समेत रहेका सुवेदी भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित छ । चितवन–२ मा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार दिने निर्णय गरिसकेको छ । जनमोर्चाले पार्टीका उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।












