काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले नटआउट ३१ रन बनाए । नेपालको १ सय ३८ रन हुँदा ८ खेलाडी आउट भएको अवस्थामा रोहित र करणले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गरे । यो साझेदारी नेपालले एकदिवसीय क्रिकेटमा गरेको अहिलेसम्मको उच्च साझेदारी हो । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १र१ विकेट लिए ।
नेपालले घरेलु मैदानमा भएको शृङ्खलामा खेलेका ४ वटै खेल जितेको छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो । योसँगै नेपालले शृङ्खलामा क्लिन स्वीप गरेको छ । शृङ्खलमा नेपालसहित स्कटल्यान्ड र नामिबिया सहभागी थिए ।
यो जितसँगै नेपाल २८ खेलमा २६ अङ्कसहित छैटौँ स्थानमा छ । ३६ खेलमा ५० अङ्क रहेको स्कटल्यान्ड लिग–२ को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले आजै लिग–२ च्याम्पियनको ट्रफी पाउनेछ ।
यसैबीच आईसीसी क्रिकेट विश्व कप लिग–२ को च्याम्पियन स्कटल्यान्डलाई च्याम्पियन ट्रफी प्रदान गरिएको छ । आजको खेलमा नेपालसँग पराजित भए पनि स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको थियो ।











