झापा । झापामा आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गरी जन्मेको नवजात शिशुको शवलाई बेवारिसे रूपमा गाडेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नवजात शिशु कर्तव्य ज्यान र हाडनाता करणी सम्बन्धी कसूरका फरार प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको हो ।
गत वैशाख २ गते झापाको एक खाली जमिनमा नवजात शिशु गाडेको अवस्थामा शव फेला परेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली अनुसन्धानका लागि खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा पीडित बालिकालाई उनकै बाबुले जबरजस्ती करणी गरेको र सोही कारणबाट शिशुको जन्म भएको खुलेको हो ।
शिशु जन्मिएपछि बाबुकै सल्लाह र दबाब बमोजिम शवलाई जमिनमा गाडिएको र बाबु भने कामकाजको सिलसिला भन्दै दुई महिना अगाडि नै रोल्पा गएको पीडित बालिकाले प्रारम्भिक रूपमा बताएकी थिइन् । घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा गत वैशाख २ गते कर्तव्य ज्यान र वैशाख १० गते हाडनाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।
वारदात पश्चात् फरार रहेका प्रतिवादी प्राविधिक अनुसन्धानका क्रममा सुरुमा रोल्पा जिल्लामा लुकिछिपी बसेको खुलेको थियो । रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उक्त स्थानबाट समेत भागी विभिन्न ठाउँमा लुक्दै हिँडेका उनलाई विशेष सुराकीको आधारमा असार ३ गते इलामको सूर्योदय नगरपालिका वडा नं. १० फिक्कल बजारस्थित मन्त्र होटलबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी छोरीसँग बसिरहेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरिएको झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीलाई असार ४ गते झापा ल्याई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी राखिएको छ । पीडित बालिकालाई भने संरक्षण र हेरचाहका लागि ‘आफन्त नेपाल’ काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।










