काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारको नाममा भइरहेको आर्थिक संकलन अभियान तत्काल रोक्न अनुरोध गरेका छन् । बोनम्यारो सम्बन्धी समस्याबाट पीडित भई हाल भारतमा उपचार गराइरहेका श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
न्यायाधीश श्रेष्ठ हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन् । उनको उपचारका लागि ‘न्यायसेवा अधिकृत समाज’ले न्यायपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमाझ स्वस्फूर्त रूपमा आर्थिक सहयोग जुटाउने अभियान सुरु गरेपछि उनले सो अभियान स्थगित गर्न भनेका हुन् ।
न्यायाधीश श्रेष्ठको भनाइ:
“बोनम्यारो समस्याका कारण म अहिले भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेको छु । मेरो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सद्भाव व्यक्त गर्नुहुने सबैप्रति म अनुगृहित छु । मेरा शुभेच्छुकहरूले मेरो उपचारका सन्दर्भमा रकम सङ्कलन गर्न थाल्नुभएको खबर पाएँ । न्यायसेवा अधिकृत समाजले स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ । यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ । आशा छ, तपाईंहरूले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ ।”
आफ्नो स्वास्थ्यप्रति चासो र सद्भाव राख्ने सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै न्यायाधीश श्रेष्ठले आफू स्वास्थ्य लाभको प्रक्रियामा रहेको र आर्थिक संकलनको कार्यलाई अघि नबढाउन स्पष्ट पारेका छन् ।












