माडी । माडीको सोमेश्वरगढिमा यहि चैत ५ गतेदेखि सुरू भएको रामनवमी (चैतेदशैं) मेलामा खुला रूपले मदिरा बिक्रिवितरण गरिएको छ । धार्मिक क्षेत्रमा स्थानीय प्रशासनलाई चुनौति दिँदै खुल्लमखुला मदिरा विक्री वितरण गरिएको हो ।
माडीको ऐतिहासिक, धार्मिक एवं पर्यटकिय क्षेत्र सोमेश्वरगढि मेलाको अवलोकन र धार्मिक कार्य गर्नको लागि दैनिक हजारौं श्रद्दालु भक्तजनहरू सोमेश्वरगढि पुग्ने गरेका छन् । तर, धार्मिक क्षेत्रमा भने आम्दानीको लागि व्यवस्थापन समितिले स्टलहरूमा खुला रूपले मदिराको व्यापार गर्न अनुमति दिएको हो ।
माडी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाालले भने सोमेश्वरगढिमा मदिरा बिक्रि गर्ने कुनै अनुमती नदिइएको बताए । सोहि विषयमा प्रश्न गर्दा, इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राइले सोमेश्वरगढिको प्रवेशद्वाराबाट भित्रि क्षेत्रमा मदिराको बिक्रि वितरण गर्न नपाइने स्पष्ट पारे ।
धार्मिक एवं ऐतिहासिक महत्व बोकेको सामेश्वरगढिमा विगतका वर्षहरूमा पनि लुकिछिपि मदिरा बिक्रि वितरण हुनेगरेको सुनिएपनि यसपटक भने खुलेयाम रूपमा बिक्रि भएको देखिएको हो ।











