काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले रास्वपा पतन हुने दाबी गरेका हुन्। उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न आफूलाई बदल्नुपर्ने बताए। उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे।
जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए। रास्वपाको पतनपछि राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाइ छ।
त्यसका लागि पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ। पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। उनले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउन लाग्न नेता–कार्यकर्तालाई आह्वान गरे।
लिङदेनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो आउँछ। त्यसका लागि हामीले मेहनत गर्नुपर्छ। हामीले जनतालाई राप्रपा फेरियो र सुध्रियो भन्ने सन्देश दिनुपर्छ। अब गुट उपगुटको कुनै नेताको पुच्छर समाएर पार्टीमा टिक्ने होइन, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र यो पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ।’
उनले पार्टी कार्यकर्तालाई महाधिवेशनमा जुट्न पनि निर्देशन दिए। महाधिवेशन मंसिर २६, २७ र २८ गते तोकिएको समयमै हुने उल्लेख गर्दै उनले निर्वाचन तालिकानुसार नै तल्लो तहको अधिवेशन गर्न आग्रह गरे।











