काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले विभिन्न कारण दिदै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनले पेश गरेको प्रस्तावमा प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- ‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’
साथै उपसभापति शर्माले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको उल्लेख गर्दै प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताएका छन् ।
प्रतिवेदन पेस भएपछि थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार भएको जानकारी गराइएको थियो । साथै आजको बैठक आइतबार विहान ८ बजे बस्नेगरी सकिएको छ ।











