भरतपुर । चितवन उद्योग संघको भोलि हुने निर्वाचनका लागि महिला उद्यमी बिन्जु राजकर्णीकार श्रेष्ठले कार्यसमिति सदस्य (महिला) पदमा उम्मेदवारी दिएकी छन् । उनले नारायणगढमा बिक्यु फेसन जोन तथा बृषा ज्वेलर्स सञ्चालन गर्दै आएकी छन् ।
लामो समयदेखि महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय रहँदै आएकी राजकर्णीकार श्रेष्ठले २०८२–२०८४ कार्यकालका लागि हुने निर्वाचनमा महिला नेतृत्वलाई सबल बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताइन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्ने समय अन्तिम चरणमा पुगेको सन्दर्भमा उनले चितवनका सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाताहरूसमक्ष भोट अपिल गरेकी छन् । उनले चितवन उद्योग संघमा महिलाको नेतृत्व क्षमता स्थापित गर्न आफूले संस्थागत रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
राजकर्णीकार श्रेष्ठले भनिन्, “अझै पनि समाजमा महिलालाई घरयासी काममै सीमित राख्ने सोच विद्यमान छ। तर आज महिलाहरू सक्षम, सबल र उद्यमशील छन्। उद्योग क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउन म उम्मेदवार बनेकी हुँ।”
चितवनमा पछिल्लो समय महिला उद्यमीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले महिला अधिकार, महिला नेतृत्व र उद्यम विकासका सवालमा उद्योग संघभित्रबाट आवाज उठाउने बताइन् ।
महिला उद्यमीहरूको हक–हित संरक्षण, नीति निर्माण तहमा महिलाको पहुँच विस्तार तथा संघलाई अझ समावेशी बनाउने लक्ष्यसहित राजकर्णीकार श्रेष्ठले सबै उद्योगी मतदाताहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिन् ।












