सौराहा । १९औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।
क्षेत्रीय होटल संघ नेपाल चितवनले आज (आइतबार) सौराहामा पत्रकार सम्मेलनगरी महोत्सव बारे जानकारी दिएको हो । महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुुनेछ ।
महोत्सव अन्तर्गत हुने विभिन्न गतिविधिमा करिब ८० वटा हात्ती सहभागी हुने क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए । तीन दिनसम्म चल्ने महोत्सवमा करिब ७० वटा हात्तीद्वारा शोभा यात्रा निकालिने र हात्ती श्रृंगार प्रतियोगिता गरिने उनले बताए । त्यस्तै, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी, पालिका स्तरिय डुंगा दौड प्रतियोगिता र विभिन्न हात्तीमैत्री प्रतियोगिताहरु गरिने बताइएको छ ।
महोत्सवमा स्थानीय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम र महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गरिने महोत्सव कार्यक्रम संयोजक गुणराज थपलियाले बताए । महोत्सवको कारण सौराहामा हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमन बढ्ने गरेको उनले दाबी गरे । महोत्सवको अवसरमा यस वर्ष होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिइने उनले जानकारी दिए ।
महोत्सवको प्रवद्र्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय सौराहा रहेका छन् ।











