चितवन । भरतपुर महानगरपालिका–१४ बरौजी चोकमा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतो रहेका छन् ।
हिजो (बिहीबार) दिउँसो करिब १२ः२० बजेको समयमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
आपसमा ठोक्किएपछि उछिट्टिएर बागमती प्रदेश०६–००१ क ०२०६ नम्बरको सेन्ट्रल कलेजको बसको टायरमा परेका मोटरसाइकल चालक महतोको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । खनालका अनुसार महतोले बिहीबार दिउँसो १ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्कुटर चालक भरतपुर–१४ सुन्दरबस्ती बस्ने ४३ वर्षीय भीम परियार र स्कुटर पछाडि सवार निजको आमा ६४ वर्षीय शान्ता परियार सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
३ वटै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











