काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।
उनीहरुको मुद्धाको सुनुवाई उच्च अदालत तुलसीपुर बुटवल इजलासको तीन नम्बर इजलासमा हुँदै छ । उक्त इजालसमा न्यायाधीश मिलन कुमार राई र सानुमैया डंगोलले सुनुवाइ गर्दै छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले आफ्नो भागमा पर्ने बिगो बराबर रकम बुझाएर रिहा हुनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका थिए। सुप्रिम सहकारी ठगीमा रवि सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रूपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।
लामिछानेले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक जमानतसहित जिल्ला अदालत रूपन्देहीमा निवेदन पेस गरेका थिए। अदालतले उक्त निवेदनमाथि साउन २६ गते सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्ला अदालतको निर्णयविरूद्ध लामिछाने र जोशीले गत भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए। गत बिहीबार त्यही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतबाट फाइल झिकाउन आदेश दिएको थियो।
सर्वोच्च अदालतबाट फाइल आएपछि आज पेसी तोकिएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।











