चितवन । भरतपुर–२ क्षेत्रपुरस्थित फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर यसवर्षदेखि बिबिए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम सञ्चालन भइरहेको र यस वर्षका लागि एक करोड भन्दाबढीको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिए।
छात्रवृत्तिबाट जेहेन्ददार, गरिब, जनजाति, शहीद परिवार, अल्पसंख्यक, फ़रक क्षमता भएका लगायतका विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृत्ति रहेको पनि उनले बताए ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रियाकलाप, इण्डस्ट्रीयल एक्सपोजर, व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप लगायतको माध्यमबाट अध्यापन गराउने र उत्तीर्ण भएका विद्यार्थीहरूलाई आफ्नै व्यवसाय गर्न, रोजगारी प्राप्त गर्न विभिन्न संघ संस्थासंग समन्वय गरी सहयोग गरिने कलेजले जनाएको छ ।












