चितवन । गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रकाश पौडेलसहित २० सहसचिव र २४ सहसचिवको सरुवा गरेको छ । गृहले चितवनमा सिडिओको रुपमा कसलाई पठाउँछ भन्ने खुलेको छैन ।
चितवनका सिडिओ पौडेलको बारा जिल्लामा सरुवा भएको छ । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका सिडिओ पनि हेरफेर भएका छन् ।
काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजालाई काठमाडौंको सिडिओको जिम्मेवारी दिएका छन् । मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जयनारायण आचार्यलाई भने प्रशासन महाशाखामा कामकाजमा खटाइएको छ ।
यस्तै धादिगका सिडिओको जिम्मेवारीमा रहेका सुमन घिमिरेलाई ललितपुरको सिडिओको जिम्मेवारी दिइएको छ भने मन्त्रालयको जगेडामा रहेका नमराज घिमिरेलाई भक्तपुरको सिडिओको जिम्मेवारी दिइएको छ ।
यसैविच गृहमन्त्री लेखकका निजी सचिव उपसचिव बद्री तिवारीलाई म्याग्दीको सिडिओको जिम्मेवारीमा पठाइएको छ भने उपसचिव दिर्घराज उपाध्यायलाई निजी सचिवको जिम्मेवारी दिइएको छ । सुदूरपश्चिम घर भएका उपाध्याय यस अघि बैतडी र दार्चुलामा सिडिओ थिए ।












