चितवन । बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीको अध्ययन गरी समस्या समाधानका लागि प्रदेश सरकार लाग्ने बताएकी छन्।
नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने बताइन्।
बागमती प्रदेश सरकारले सहकारीको समस्या समाधानका लागि बिशेष पहल गर्ने उनले बताइन्। समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचत कर्ताको बचत फिर्ता गर्नेगरी काम गरिने उनकाे भनाइ थियाे । उनले भनिन्, “समस्या ग्रस्त सहकारीका बचत कर्ताहरुको बचत फिर्ता गर्ने गरी अध्ययन गरेर काम गछौ ।”
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीको समस्या समाधान गर्ने जिम्मेवारी काँग्रेसको काधमा रहेको बताईएको थियो । खनालले समस्या ग्रस्त सहकारीको समस्या औल्याएर समस्या समाधानका लागि लाग्नुपर्ने उनले बताए ।
कार्यक्रमअघि नवनियुक्त मन्त्री पाैडेलले विपी कोईराला मेमाेरियल क्यान्सर अस्पतालमा रहेको विपीको शालिकमा माल्यापर्ण गरेकी थिइन्।
यसैगरी आज नै उनलाई भरतपुर १ देवद्धार देवघाटधामा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद् योगीनरहरीनाथ आश्रमले सम्मान गरेको छ । परिषद्का केन्द्रिय सदस्य एवं परिषद्बाट सञ्चालीत समावेशी गुरुकुलका संयोजक समेत रहेकी मन्त्री पौेडेललाई परिषद् परिवारले सम्मान गरेको हो ।
आश्रम परिसर बागीश्वरीमा भएको सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेले आध्यात्मिक परिषद्बाट सञ्चालीत, गौशाला गुरुकुल, प्राकृतिक चिकित्सा लगायतका प्रकल्पहरुले ऐतिहासिक भूमि बागीश्वरीको संरक्षण अभियानमा टेवा पुगेको बताउँदै यस्ताे महत्वपुर्ण क्षेत्रको संरक्षणमा लागि रहने बताइन्।












