भरतपुर । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको छ।
बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमाबाट तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् सङ्घीय समितिका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरूङको विशेष उपस्थितिमा ‘रिमै’ बोलको शीर्षगीत सार्वजनिक गरिएको हो।
गीतमा कलाकारहरु रिश्मा गुरूङ, दयाहाङ राई, गौमाया गुरूङ, अर्पण थापालगायतका कलाकारहरुले अभिनय गरेका छन्। गीत सार्वजनिक गर्नको लागि चलचित्रका निर्देशक खिलबहादुर गुरूङ, कार्यकारी निर्माता वीरबल घले (विरूप) नायिका रिश्मा गुरूङ, गायक एवम् सङ्गीतकार आँशु लामा, सहनिर्माता विनु गुरूङ, सम्पादक मित्र डि गुरूङलगायतको टोली चितवन आएको थियो। भदौ २० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालिको ब्यानरमा रोटेपिङ इन्टरटेनमेन्टले निर्माण गरेको हो।
कबड्डी शृङ्खलापछि लामो समयमा नायिका रिश्मा गुरूङले यही चलचित्रमार्फत पुनः पर्दामा पाइला टेकेकी छन्। चलचित्रको शीर्ष गीत सार्वजनिक गर्ने तयारी भएपछि नायिका रिश्मा मङ्गलबार मात्रै अमेरिकाबाट नेपाल फर्किएकी हुन्। उनले चलचित्रको शीर्षगीतबाटै दर्शकको राम्रो साथ पाएको बताइन्। ‘चलचित्रको शीर्षगीतको सार्वजनिक कार्यक्रममा उपस्थित भएको दर्शक सङ्ख्याले पनि हौसला बढाएको छ,’ उनले भनिन्, ‘गीतमाजस्तै चलचित्रलाई पनि माया गरिदिन चलचित्र निर्माण समूहको अनुरोध छ।’
शीर्षगीत सार्वजनिक गरेसँगै चलचित्रको औपचारिक प्रचारप्रसार चितवनबाटै सुरु भएको चलचित्रका निर्देशक खिलबहादुर गुरूङले जानकारी दिए। आँशु लामा र रिता केसीको आवाज तथा दीपक शर्माको शब्द सङ्गीत रहेको गीतमा गुरूङ संस्कतिलाई प्रष्टसँग देखाइएको छ। शब्दले पनि गुरूङ समुदायको परिवेशलाई बाँधेर राखेको छ।
गुरूङ समुदायको कथालाई चलचित्रको माध्यमबाट आम नेपाली दर्शकलाई देखाउने प्रयास गरिएको निर्देशक गुरूङले बताए। राजधानीपछि चितवनलाई नेपाली चलचित्रको प्रमुख बजार मानिएको हुँदा यसपटक चितवनबाटै प्रचारप्रसारको यात्रा शुभारम्भ गरिएको उनको भनाइ छ। ‘सधैँ राजधानीबाट प्रचारप्रसार गर्दै आएकोमा यसपटक मोफसलबाट प्रचारप्रसार थालेका छौँ,’ उनले भने, ‘यसले चलचित्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।’
चलचित्रका कार्यकारी निर्माता वीरबल घले (विरूप)ले चलचित्रको कथावस्तु र प्रस्तुतिले दर्शक तान्ने दाबी गरे। ‘कलाकारहरुको अभिनय त सबैले देखिरहेकै विषय हो,’ उनले भने, ‘यसमा गुरूङ समुदायको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गर्न कथा, निर्देशन तथा प्रस्तुति एकदम बलियो छ। त्यसकारण सबैले एकपटक हेर्नै पर्ने चलचित्र बनेको छ।’
कवि एवम् चलचित्र निर्देशक उपेन्द्र सुब्बाको कथामा तयार भएको चलचित्रमा गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, पुष्कर गुरूङ, कविता आलेमगर, वीरमाया गुरूङ, वीरबल घले, डिबी गुरूङ, आकृति गुरूङ, शुष्मा गुरूङ, टेक गुरूङ, श्रृजना गुरूङ, स्मृति राई, विष्णु मोक्तान, समिता गुरूङ, समता गुरूङ, प्रमिला राईलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेको मुख्य लगानी रहेको चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ सहनिर्माताको रूपमा जोडिएका छन्। चितवनमा झारगाउँ चेली माइती समाजले निर्माण समूहलाई फेटा लगाएर सम्मानसमेत गरेको थियो।
चिवतन र नवलपुर जिल्लाका विभिन्न संघसंस्थाहरुको उपस्थितिमा सिजी मलको क्युएफएक्समा चलचित्रको शीर्षगीत सार्वजनिक गरिएको हो। हल भरिभराउ दर्शकले गीत मन पराएपछि हलको पर्दामा दुई पटक गीत बजाएको थियो। चितवनबाट गीत सार्वजनिक भएपछि बुधबार नै युट्युब च्यानल ओएसआर डिजिटलबाट उक्त गीत सार्वजनिक गरिएको छ।











