चितवन । तेस्रो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला साउन ३० गतेदेखि सुरु हुने भएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा हुन लागेको तीन दिने मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका बस्तु तथा सेवाको प्रदर्शन एवम् तीज गित प्रतियोगिता हुनेछ । मेलाको बारेमा मञ्चले बुधबार पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।
उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट गर्ने, उत्पादनको प्रदर्शनी मार्फत महिला उद्यमशिलताको प्रबद्र्धन गर्ने र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले बताइन् । साउन ३० गतेदेखि भदौ १ गतेसम्म हुने उक्त मेला चितवन औद्योगिक प्रदर्शनीमा दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ ।
‘महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुको ब्रान्ड र कम्पनीको छवि बढाएर प्रवद्र्धन गर्ने र उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने एक्स्पोको उद्देश्य रहेको छ’, सोतीले भनिन् ।
त्यस्तै, लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत उद्यमशिलता सम्बन्धि अनुभव र ज्ञान साझा गर्ने, महिलाहरुका लागि स्वरोजगार र उद्यमशीलताका लागि सीप विकासका सम्भावनाको खोजी गरिने उनले बताइन् । तीज मनाउने सन्दर्भमा दर खाने नाममा हुने गरेका विकृति न्यूनिकरण गरी पर्वहरुका माध्यमबाट उद्यमशिलताको विकासमा सघाउ पुर्याउने, स्वदेशमा नै गरिखान्छु भनी लागेका महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि मानसिक रुपमा तयार हुन थप हौसला प्रदान गर्ने उद्धेश्य पनि रहेको उनी बताउँछिन् ।
एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन तथा विभिन्न परिकारका खानाका स्टलहरु, नवप्रवर्तनका स्टलहरु रहने उनले जानकारी दिइन् । उनका अनुसार एक्स्पोमा ३५ भन्दा बढी स्टलहरु रहने छन् ।
मेलाको पहिलो दिन स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । वर्तमान समयमा आम उद्यमीहरुलाई तनाव व्यवस्थापनसहित उत्प्रेरणा आवश्यक रहेको महसुस गरिएको छ । सोहि अनुरुप मेलाको दोस्रो दिन हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुती दिने सोतीले बताइन् । त्यस्तै, व्यूटीफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीको प्राविधिक सहयोगमा ‘मानसिक स्वास्थ्य हाम्रो सरोकार, जागरुक उद्यमी समृद्ध परिवार’ विषयमा तिज गित प्रतियोतिगा हुने भएको उनले जानकारी दिइन् ।
उनका अनुसार प्रतियोगितामा ३० भन्दा बढी समुहहरु सहभागी हुनेछन् । प्रतियोगिताको विजेता समूहले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले १५ हजार, तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । मेलाको अन्तिम दिन अवलोकनकर्ताहरु मध्येबाट गोलाप्रथा मार्फत पाँच जनालाई आकर्षक उपचार प्रदान गरिने छ । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेलामा १० हजार भन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने विश्वास लिइएको छ । मेलामा ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ ।












