काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीचको आन्तरिक कलह छरपष्ट भएको छ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनी ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्।
हालै एक टेलिभिजन अन्तरवार्तामा नेता खनालले नेकपा (एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए।
खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिएका थिए। अध्यक्ष नेपालको उक्त अभिव्यक्तिपछि शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैरजिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताए।
खनालले नेतृत्व गर्ने व्यक्तिले त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु तानाशाही भएको बताए। उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे।
खनालले भने‚ ‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई प्रश्न छ – कस्तो तानाशाह बन्न खोजेको हो ?’












