काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले निजामती सेवा विधेयकका कुलिङ पिरियड हेरफेर प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् ।
आज (मंगलबार) सभामुखसँगको छलफल सकेर बाहिरिने क्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्र्दै उनले निजामती विधेयकमा गरिएको छेडखानी आफूहरुलाई स्वीकार्य नरहेको बताएका हुन् ।
‘यदि जानाजानी सभापतिजीसमेत संलग्न हुनु्हुन्छ भने किर्ते जालसाझी भयो । कानूनी हिसाबले पनि गम्भीर कुरा हो । ल ठीक छ, उहाँको संलग्नता छैन भने पनि नैतिक रुपमा उहाँले आफूले हस्ताक्षर गरेको भन्दा विपरीत कहाँबाट आयो त ? त्यसैले नैतिक रुपमा सबैभन्दा पहिला समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ । उच्चस्तरीय वा संसदीय के हुनसक्छ, छलफल गरेर छानविन समिति बनाउनुपर्छ । यस घटनामा संलग्नहरुलाई कारबाही गरिनुपर्छ । नत्रभने संसद्को सर्वोच्चता कायम रहँदैन,’– उनले भने ।












