काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मिसन ०८४ मा कसैले बाधा पुर्याउन खोजे त्यसको हिसाबकिताब हुने चेतावनी दिएका छन्।
शनिवार जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताए।
मिसन ०८४ मा बाधा कसैले पुर्याउन नसक्ने उनको भनाइ छ। पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक हिसाबले स्पष्ट, सांगठनिक हिसाबले एकताबद्ध, अनुशासित बनाएर लिएर जाने कुरामा पार्टी नचुक्ने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले भने, ‘अनुशासनहीन ढंगले कोही पनि नेता, कार्यकर्ता एमालेका चल्नेछैनन् भन्ने मैले विश्वास लिएको छु। मिसन ०८४ हाम्रो अगाडि छ। हामी मिसन ०८४ देखिरहेका छौँ। मिसन ०८४ मा बाधा कसैले पुर्याउन सक्दैन, पुर्याउन खोजे त्यसको हिसाबकिताब गरिनेछ।’
प्रधानमन्त्री ओलीले अनुशासनका साथ पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गरे।











