काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुखले सदनमा बार्गेनिङ गरेको बताएका छन् ।
सभामुखले सत्तापक्षलाई बोल्न दिनको लागि दलिय आधारमा बोल्न दिने भन्दै विपक्षी दलसँग बार्गेनिङ गरेको आरोप लगाएका हुन् । दलिय आधारमा बोल्न दिने भनेको सदनमा भएका सत्तापक्ष तथा विपक्ष सबै दलका केहि नेताहरुलाई समय छुट्याएर बोल्न दिने हो ।
बुधबार पनि भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले सुरुमै बैठक अवरोध गरेपछि सभामुखले दलीय आधारमा बोल्न तयार भए मात्रै बोल्न समय दिने नभए नदिने बताएका थिए। तर प्रतिपक्ष दलहरुले नमानेपछि सभामुखले ३० मिनेका लागि संसद बैठक स्थगित गरेको थिए ।
बैठक स्थगीत भएपछि बाहिर निस्किएका सांसद पराजुलीले भने , ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’












