चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ ।
आज वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९औँ बालमैत्री वडा घोषणा गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले १५ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् ।
प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने बताइन् । देशका ६ महानगरपालिका मध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि उनले स्मरण गरिन् ।
वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई उनले धन्यवाद ज्ञापन गरिन्।
उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले भौतिक विकाससँगै मानविय विकासलाई सँगसँगै अघि बढाइरहेको बताए। उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिए।
यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवार सुरु भएको बताए। राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको उल्लेख गरे।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १५ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।












