तनहुँ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् ।
सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाइबाट घाइते भएका हुन् ।
शिक्षक भट्टको कुटाइबाट कक्षा ६ मा अध्ययनरत अस्मृति बिकको देब्रे हात मर्किएको छ भने औंला भाँचिएको छ । यातना दिई कुटपिट गर्ने शिक्षकको कारबाहीको माग राख्दै पीडितका अभिभावकले आइतबार विद्यालयमा निवेदन पेश गरेका छन् ।
छोरी शुक्रबार खाना नखाई झोक्राएर सुत्न लागेपछि उनका साथीसँग सोध्दा शिक्षकको कुटाइले घाइते भएको पत्ता लागेको अस्मृतिको आमा राममाया सुनारले बताइन् ।
शिक्षकको डरले कुटाई खाएको नभनेको र साथीसँग सोधेर पत्ता लगाएको उनले बताइन् । कुटाईबाट छोरी सख्त घाइते भएकाले आइतबार विद्यालयमा पुगेर कारबाहीको माग राखेको सुनारले बताइन् । कुटाइबाट हात मर्किएको, औंला भाँचिएको, पिठिउँमा निलडाम रहेको र हाल ज्वरो आएको सुनारले बताइन् ।
साथीसँग किन झगडा गरेको भनेर शिक्षक भट्टले लौरीले पिढिउँ र हातमा हिर्काउनु भएको अस्मृतिले बताइन् । देव्रेहात बेस्सरी दुखेको र औँला चलाउन कठिन भएको अस्मृति बताउँछिन् । अस्मृतिले भनिन्, ‘‘साथीसँग सामान्य भनाभन भएको थियो सरले एक्कासि बेस्मरी कुट्नु भयो ।’’
अस्मृतिका अन्य चारजना साथीहरु सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङलाई चोट लागेको छ ।












