नेपालगन्ज । भारत र पाकिस्तानबिच द्वन्द्व चर्किँदै गएपछि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरूले नेपालगन्ज सीमा नाकामा कडाइ बढाउँदै लगेका छन् ।
सो क्रममा यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा सुरक्षा कडाइ बढाउँदै नेपालगन्ज नाकाबाट आवागमन गर्नेहरूका लागि सशस्त्र प्रहरीले परिचय–पत्र अनिवार्य गरेको छ ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनालले नाकामा सुरक्षा सतर्कता बढाउने निर्देशन बमोजिम सुरक्षा कडा पारिएको जनाउँदै परिचय खुल्ने कागजात भएका भारतीयलाई मात्र नेपाल प्रवेश गर्न दिएको बताए । उनले परिचय खुल्ने कागजात नभएका भारतीयको बारेमा सोधखोज गरेर मात्र आउन दिइएको पनि बताए ।
यसअघि गत केही वर्षदेखि भारतीय सुरक्षा निकाय सीमा सशस्त्र बल (एसएसवी)ले रुपैडिहा नाकामा आवागमन गर्ने नेपाली र भारतीय सबै नागरिकहरूका लागि परिचयपत्र अनिवार्य गरेको थियो । हाल आएर सशस्त्र प्रहरी बल नेपालले पनि नेपालगन्ज नाकामा परिचयपत्र हेर्न थालेको हो ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका अनुसार अहिले नेपाल आउने हरेकको परिचय खुल्ने कागजात हेरेर मात्र आउन दिइएको छ भने आवागमन गर्ने हरेकमाथि कडा निगरानी बढाइएको छ ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले भारत पाकिस्तान द्धन्द बढेपछि अहिले नाकामा कडाइ बढाउँदै लगिएको जनाउँदै सशस्त्र प्रहरीले नेपाल आउनेहरुको परिचय पत्र हेर्न थालेको बताए ।
उनले कुनै पनि गलत मानिसको नेपाल प्रवेश नहोस् भन्ने उद्देश्यका साथ मुख्य नाकामा परिचय पत्र हेर्न थालिएको जनाउँदै अन्य खुला नाकाहरूमा पनि गस्ती र सुरक्षा बढाइएको बताए ।












